
१६ वर्षपछि पिएनमा स्ववियु निर्वाचन
- चैत्र १०, २०८१ मा प्रकाशित

पोखरा । पृथ्वीनारायण क्याम्पस, पोखरामा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकतिहाइ अर्थात् ३१ दशमलब २५ प्रतिशत मात्र मत खसेको छ ।
सबैभन्दा धेरै मतदाता रहेको यो क्याम्पसमा कुल ९ हजार २ सय ७० मतदाता विद्यार्थीमध्ये २ हजार ८ सय ९७ जनाले मतदान प्रक्रिायमा भाग लिएको निर्वाचन समितिले जनाएको छ ।
कुल मतदातामध्ये ७ हजार ४ सय ४ जनाले मात्र मतदाता परिचय बुझेका थिए । कार्ड बुझेकामध्ये खसेको मत भने करिब ३९ दशमलब १२ प्रतिशत हुन आउँछ । मतगणना सोमबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।
पोखरा–१, बगरस्थित पृथ्वीनारायण क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदात भएको हो । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिको दाबी छ ।
एमालेनिकट अनेरास्ववियुको बर्चश्व रहँदै आएको यो क्याम्पसमा २२ औं स्ववियु अध्यक्षका लागि २ स्वतन्त्रसहित विभिन्न संगठनका ८ जना उम्मेदवार दाबेदार छन् ।
‘नेता उत्पादन गर्ने क्याम्पस’ को रुपमा चिनिने पिएनमा २०६५ सालयता भने यहाँ चुनाव हुन सकेको थिएन । पछिल्लो समय २०७९ मा यहाँको चुनाव अन्तिम समयमा आएर भाँडिएको थियो ।
१६ वर्षपछि सम्भव भएको चुनावमा भने न्यून मत खसेपछि कतिपयले नेपाली राजनीतिप्रति नयाँ पुस्ताको विस्तृष्णा भनी टिप्पणी गरेका छन् । यहाँ पछिल्लो समय रश्मी आचार्य स्ववियु सभापति थिए ।
अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, अखिल (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल (छैटौं) बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ, संयुक्त प्यानलबाट सन्तोष पौडेल अध्यक्षका उम्मेदवार छन् । स्वतन्त्रबाट कमल सुवेदी र विप्लवी न्यौपाने अध्यक्षका उम्मेदवार हुन् ।
२१ सदस्यीय स्ववियु समितिका लागि १० जना समानुपातिकबाट निर्वाचित हुने छन् । समानुपातिक सदस्य निर्वाचित भएकामध्ये एकजना उपाध्यक्ष र एकजना सहायक सचिव हुने व्यवस्था छ । निर्वाचनका लागि प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ, संगठन, प्यानल दर्ता भएका हुन् ।
गत ५ चैतमा देशैभर निर्धारित चुनावमा यहाँ मतदान सुरु हुनैलाग्दा मतपत्रमा त्रुटि भेटिएपछि उत्पन्न विवादले चुनाव रोकिन पुगेको थियो ।
मतपत्रमा अखिल (छैटौं) का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुटेपछि विवाद सिर्जना भएको हो । त्यसक्रममा विद्यार्थीले नाराबाजी गर्नुका साथै प्रहरी विद्यार्थीबीच सामान्य झडपसमेत भएको थियो ।
निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले भोलिपल्ट ६ चैतका लागि मतदानको कार्यतालिकासहित सूचना जारी गरे । तर, पछि साँझ निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैटौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेपछि अर्को सूचना जारी गर्दै अनिश्चितकालसम्म चुनाव स्थगन गरेको जनाए ।
क्याम्पसमा एकछत्र चुनाव जित्दै आएको अनेरास्ववियुले चुनाव भाँड्न अनेक प्रपञ्च रचिएको भन्दै तत्काल निर्वाचन माग गर्दै सांकेतिक विरोधका कार्यक्रम जारी राख्यो ।
६ चैतमा निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको सर्वपक्षीय बैठक बस्यो । र, बैठकले १० चैतको नयाँ मिति तोकेको हो ।
यसअघि, पोखराकै नर्सिङ क्याम्पस र वन क्याम्पसमा अनेरास्ववियू र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्रको नेतृत्व निर्वाचित भइसकेको छ । जनप्रिय र संस्कृत क्याम्पसको चुनाव हुन बाँकी छ ।
नर्सिङमा अनेरास्ववियुकी प्रतिभा भण्डारीले नेवि संघकी रचना पौडेललाई अध्यक्षतामा पराजित गरेकी हुन् । वन क्याम्पसमा अनेरास्ववियुतर्फबाट संयुक्त प्यानलका उम्मेदवार अभिषेक शर्मा निर्वाचित भए ।
लामाचौरस्थित इन्जिनियरिङ क्याम्पसले पहिलोपल्ट स्वतन्त्र नेतृत्व पायो । विभिन्न दलनिकट विद्यार्थी संगठनहरु अनेरास्ववियु, नेवि संघ र अखिल (क्रान्तिकारी) ले जित्दै आएकामा यसपालि त्यो किल्ला भत्किएको हो । अखिल क्रान्तिकारीको पृष्ठभूमिका प्रकाश धामीले स्वतन्त्र उम्मेदवारी दिएकोमा निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका अनुप न्यौपानेलाई २६७ मतअन्तरले पराजित गर्दै आगामी कार्यकालको नेतृत्व पाए । राजधानीबाट

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
-
कार्तिक २५, २०८१कालु लामाकाे जिन्दगी बदल्ने त्याे एक रात
-
आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?
-
लोकप्रिय मंसिर १५, २०८१लाेकेन्द्रलाई ‘पाेलिटिक्समा पास’ गराउने ‘मेडिकल फेल’
-
लोकप्रिय आश्विन २०, २०८१फाेक्सिङ्टारकाे पुलका लागि विशाल भट्टराईले अघि सारेका विकल्पहरू
-
लोकप्रिय आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
Comments