•  १० जेष्ठ २०८२, शुक्रबार

खोटाङमा भव्य खेलकुद, साहित्यिक र पर्यटन महोत्सव सम्पन्न

- जेष्ठ ६, २०८२ मा प्रकाशित


दुई विशिष्ट व्यक्तित्व सम्मानित, हजारौंको सहभागिता

खोटाङ, ४ जेठ — नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। दिक्तेल बजारस्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजित नौ दिन लामो महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी, कवि तथा साहित्यकारहरूको उत्साहजनक सहभागिता रह्यो।

महोत्सवको साहित्यिक कार्यक्रममा खोटाङका पूर्व जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र अग्रज कवि कुन्ता शर्मा विशेष सम्मान प्राप्त गर्ने व्यक्तित्व बने। दिक्तेल रुपाकोट मझुवागढी–५ लफ्याङका चाम्लिङ र सुनसरीकी कवि शर्मालाई जनही रु ११,१११ नगद, ताम्रपत्र, र दोसल्ला ओढाएर सम्मान गरिएको हो।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईका अनुसार चाम्लिङलाई पूर्व संयोजकको भूमिकामा योगदानका लागि र शर्मालाई नेपाली साहित्यमा पुर्‍याएको योगदानको कदर स्वरूप सम्मान गरिएको हो। उनीहरूलाई क्रमशः सहायक प्रमुख जिल्ला अधिकारी सागर साहनेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सम्मानित गरेका थिए।

खेलकुदका तर्फ

महोत्सवमा १३ वटा इभेन्टमा ६३ वटा पदकका लागि प्रतिस्पर्धा भयो।
हाफ म्याराथन (पुरुष/महिला खुला) मा नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपानेसञ्जय श्रेष्ठ विजेता बने।
उनीहरूले जनही रु ७७,७७७, ट्रफी, मेडल र प्रमाणपत्र जिते।
राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा ललितपुरका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली विजेता भए। उनले रु २५,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए।
टेबलटेनिसतर्फ सिनियर पुरुषमा एभीएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदाल, जुनियर महिलामा साइरा शाक्य र जुनियर पुरुषमा जयस्नु महर्जन विजेता बने। विजेताहरूले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्राप्त गरे।

उद्देश्य र आयोजनाको महत्व

महोत्सवको मुख्य उद्देश्य खोटाङलाई खेलकुद, साहित्य र पर्यटनको केन्द्र बनाउने, जिल्लामा ओलम्पिक सम्भावना बोकेको प्रतिभा विकास गर्ने, र राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने रहेको आयोजकले जनाएको छ।

यसका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको थियो। सहआयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सुमन राईका अनुसार महोत्सवमा रु ३९ लाख ५५ हजार ८७ बजेट खर्च भएको थियो।

नौ दिनसम्म चलेको यो बहुआयामिक महोत्सवले खोटाङको वातावरणमा उत्साह थपेको र भविष्यमा यस्ता कार्यक्रम जिल्लाको समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

What’s your Reaction?
+1
22
+1
9
+1
1
+1
1
+1
0
Comments

सम्बन्धित खवर