•  १० आश्विन २०८२, शुक्रबार

मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’

- आश्विन ८, २०८२ मा प्रकाशित


८ असोज, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई केही दिनका लागि फोन र म्यासेज नगर्न सार्वजनिक रूपमा अनुरोध गरेका छन् । मन्त्रालयमा एक प्रभावकारी र सिर्जनशील टिम बनाउन व्यस्त रहेको भन्दै उनले अनावश्यक कल तथा सन्देशले काममा बाधा पुगेको बताएका हुन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्, “अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला ।”

गत सोमबार मन्त्री पदमा नियुक्त भएका पुनले आफ्नो फरक कार्यशैलीका कारण सुरुदेखि नै चर्चा पाइरहेका छन् । उनले मन्त्रालयको काममा पूर्ण रूपमा समय दिनका लागि मन्त्रालयभित्रै खाने र बस्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए, जसअनुसार व्यवस्थापन गरिएको छ ।

आफ्नो कार्यशैलीबारे जानकारी दिँदै उनले मन्त्रालयमा बनाइएको आफ्नो सुत्ने ठाउँ ‘पाँचतारे होटल’ जस्तै रहेको रमाइलो टिप्पणी समेत गरेका छन् । उनको यो कदमले मन्त्रालयको कामलाई तीव्रता दिने र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।

What’s your Reaction?
+1
5
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर