
विशाल भट्टराईकी आमाले कहिल्यै नबिर्सने त्यो दशैं !
- आश्विन २५, २०८१ मा प्रकाशित

खाेटाङबजारबाट पाँच मिनेट हिँडेपछि भगवतीथान पुगिन्छ । यसकाे काखमै मेहनतपूर्वक सजाइएको एउटा घर छ – विशाल भट्टराईकाे घर ।
घरमा ८८ वर्षकी आमालाई एकछिन फुर्सद छैन, दशैंमा छोराबुहारीहरू आएका छन्, शरद ऋतुमा आँगनभरी फूल फुलेका छन्, फूलजस्तै नातिनातिना पनि घरमा छन्, आगनकाे डिलमा फलेकाे सुन्तला यसपालि धेरै भुइँमा झर्याे, नातिनातिनालाई आँगनकै रुखबाट टिपेर सुन्तला खुवाउन नपाइएला कि ? भन्ने पिर पनि सानाे छैन ।
घरभरि मान्छे भएपछि कपाल पनि आफुले काेर्न पाइदैन, वरिपरि छोराबुहारी, नातिनातिना छन्, छोरालाई भेट्न मान्छेहरू आइरहन्छन्, आउने-जाने धेरै मान्छे चिनिराखेकै छन्’ बाेलाउँछन्-बाेल्छन्-हाँस्छन् ।
अब हाँस्न पाइदैन हाेला जस्ताे लाग्थ्याे २२ वर्ष अगाडी….. हरेक दशैंमा त्याे बेलाकाे दशैंकाे सम्झना आइहाल्छ, याद गाढा हुँदै जान्छ- आँखा धमिलाे हुँदै जान्छ ।
०५९ साल तीजकाे दिन बिहानै क्यासेट र ब्ल्यांकेटकाे भारी बिसाउँदै भरियाले एउटा चिट्ठी थमायाे, “म छितापाेखरीकाे कार्यक्रममा गएँ, याे समान लिएर आउने मान्छेलाइ रु ३०० दिनू । – विशाल”
चिट्ठी आउनु अगाडी नै छितापाेखरीकाे कार्यक्रमबाटै छाेराे अपहरण भएकाे खबर बजारभरि फैलिएछ, तर आमालाई कसैले सुनाएनन् । “विशाल आइपुग्याे हाेला भनेर खेतबाट घाँस लिएर आइपुगें, बुवा बाहिरै बस्नुभएकाे रैछ, विशाल आएन ? भनेर साेध्दा बाेल्नुभएन, किन नबाेल्नुभएकाे ? भनेर साेधेपछि माओवादीले लगे रे भन्नुभयो ।” त्याे दिनकाे घटना सुनाउँदा अहिले पनि उनको गला अवरुद्ध हुन्छ ।
छाेराे अपहरण भएकाे खबर उनले अपराह्नमा सुनिन। उनकाे आँखामा अन्धकार छायाे, आफूले टेकेकाे जमिन भासिएझैँ भयाे, घाँसकाे भारी छाेडेर उनी थचक्क बसिन् र रुन थालिन्, आँसु सकिदै गएपछि आफूलाई बलियाे बनाइन, उठिन र खाेज्न हिडिन् ।
छोरालाई कहाँ लगेको हाे थाह थिएन, जानुपर्ने कहाँ हाे थाह थिएन केही नसोची हिँड्दै हिँड्दै उनी माझाखर्क पुगिन । उमेरले ६० कटेर ७० तिर लाग्दै गरेकाे उनलाई महसुस नै भएन एकपटक पनि पछाडी नफर्कि उनी माझाखर्क पुगिन, याे बाटाे जवानीमा पनि यति छिटाे हिडेकाे उनलाइ याद छैन ।
माझाखर्कमा नरनाथ सरले भेटे, म काेही मान्छेलाई खोज्न पठाउँछु तपाइ घर जानुस् भनेर सम्झाए र घर फर्काए । घरमा कसैलाइ खाना रुचेन, कसैलाइ निन्द्रा लागेन ।
छोरा खाेजिदिन कसलाइ भन्ने हाेला ? उनले चिनेजानेका सबैलाइ गुहार्न थालिन् । भन्ने पनि कसलाइ भन्ने ? पुलिसलाइ भनाै भने पुलिसलाइ नै मारिराखेका छन्, कति पुलिस आफै वेपत्ता थिए ।
धेरैपटक उनले भगवतीथान सम्झेर छाेराका लागि याचना गरिन्, सकेजति बल गरिन् ।
छाेरा कहाँ छ कसैलाइ थाह थिएन, कपासे भन्ने ठाँउमा छ रे भनेर नरनाथ सरले नै खबर ल्याए तर कति सत्य हाे थाह थिएन ।
माओवादीले भट्टराइसँगै एमाले नेताहरु राम दंगाल, अर्जुन गैरापिप्ली, नविन अभिशेष र शिवराज कैदीलाइ पनि अपहरण गरेकाे थियाे ।
मावाेवादी विद्राेहकाे चरम समयमा राज्य र माअाेवादी पक्षबाट थुप्रै मान्छे मारिएका थिए । “यहाँ एउटा सशस्त्र पुलिस थियाे भर्खर बिहे गरेर दुलही ल्याएकाे रैछ, मलाइ पनि बाेलायाे, टिका लाइदिएँ केही नहाेस् भनेर आशिष दिनु है भन्याे, हप्तादिन नपुगी माओवादीले मारेछ ।” लामाे सास फेर्दै उनले नमिठाे सम्झना सुनाइन ।
छाेराे आएपछि खबटा लाउन भनेर घरकाे छानाे उधारेकाे थियाे । एकातिर घरकाे विचल्ली अर्कातिर घरका सबैजना विरामी पर्न थाले ।
भट्टराइबाहेक सबैलाइ माओवादीले छाेड्याे, छुटेकाहरु कहिलेकाहीँ घरमा आउँथे, एकदिन अर्जुन गैरापिप्लीले छ जना तन्नेरी लिएर आएर खबटा लाइदिए । अरु छुट्दै आएपछि छोरालाई माओवादीले चाहिँ नमार्ला भन्ने लाग्याे तर सेनासँग भने डर बढ्दै गयाे ।
“माओवादीकाे हुलमा भएपछि सेनालाइ के थाह र हैन ? यहिँ हाम्राे घरमा बसेर पढेका थिए चिसापानी खुटाका दुर्गा काेइराला, साह्रै मिजासिला थिए । एमालेका नेता हरि भट्टराईकाे घरमा पाहुना गएकाे बेला सेनाले मारेछ । पाहुनालाइ केही नगर बरु मलाइ मार भनेर हरिले लाख विन्ती गरे रे, सेनाले सुनेन” अमिलाे मन बनाएर उनले सुनाइन ।
दशैं नजिकिदै थियाे, बुढाे हुँदै गएका भट्टराईका बा-आमा गर्भवती श्रीमती र २ वर्ष लाग्दै गरेकी सानी छाेरीका लागि दशैंकाे कुनै गुञ्जायस थिएन। दशैं नजिकिंदै गर्दा उनी झन बिरामी पर्दै गइन । कमजाेरी भएर नसा भेटिदैनथ्यो, डाक्टरले धेरै ठाउँ घाेचेर बल्ल दुइ बाेतल स्लाइन चढायाे ।
अरु दुइवटा छाेरा माओवादीकै डरले दशैंमा घर आएनन्, घर आए भने यिनीहरुलाइ पनि लैजालान् भन्ने पिर आमालाई पनि थियाे । दशैंमा कान्छी छाेरी र ज्वाइ आए । बुहारी गर्भवती भएकोले माइती विराटनगर गएकाे र आमा बिरामी भएकाले ज्वाइले छाेरीलाइ माइतीमै छाेडेर फर्किए ।
यसैपनि युद्धकाे बिचकाे दशैं, त्यो पनि एउटा छाेरा अपहरणमा परेकाे, अरु छाेराहरु घर आउन नमिल्ने, आफू बिरामी, यस्ताे खल्लाे दशैं कहिल्यै आएकाे छैन ।
छाेराे अपहरणमा परेपछि उनका हरेक दिन राेएरै बिते, बिरामी भएर थला पर्दा पनि उनी छाेराकाे पिरले राेइरहिन, स्कुलमा हुँदादेखि राजनिती गरेकाे, काठमाण्डाैमा पढ्दा पढ्दै २८-२९ काे कलिलाे उमेरमा निर्वाचनमा उम्मेदवार भएर आएदेखि सकृय राजनिति गर्दैगर्दा उनले कहिल्यै छोरालाई राेकिनन्, सँधै अरुकै सेवामा लाग्दा पनि यति दुख पाएकाे देख्दाचाहिँ यति दुख सहेर राजनीति नगरे हुने भन्ने पनि कतिपटक लाग्याे । “चुनाव उठ्नेबेला काेही मान्छे चिन्दैनथ्याे, एकदिन यहीँ गाउँकी फयँल्नी मसँग आएर दिनभर गफ गरिन, उसले सुनिराख्याे, पछि उनी गएपछि चाहिँ काे हाे ? भनेर साेध्याे । अहिले त उसले नचिनेकाे मान्छै छैनन् ।” उनले पुरानाे दिन सम्झिइन् ।
छोरालाई के गरिराकाे हाेलान् ? कहाँ लगेका हाेलान् ? केही थाह थिएन, आउनेजाने केहीले अब उसलाइ माओवादी बनाउँछन् पनि भन्थे तर उनलाई त्यस्ताे लाग्दैनथ्याे ।
कहिलेकाहीँ मान्छेहरुले आज छाेड्छ रे ! भनेर सुनाउँथे, मनकाे कुनै कुनामा फूल फक्रिएझैं हुन्थ्याे, हल्ला आउँथ्याे, छाेरा आउँदैनथ्याे । मन फेरी ओइलाउँथ्याे ।
गाउँमा दशैं सकिएर तिहार लाग्दै थियाे, उनलाई त दशैं आएकै थिएन, तिहार नि उस्तै, बारी भरि फूल फूलेकाे उनलाई थाहै थिएन । एकदिन बिहानै भानुभक्त सर र माधव सर आइपुगे, उस्तै खबर लिएर “आज विशाललाइ छाड्छ रे ।” मनकाे एउटा कुनामा याे सहानुभूतिका लागि मात्र हाे भन्ने लाग्याे अर्काे कुना भने ढकमक्कै भयाे ।
यसपटक भट्टराइलाइ साँच्चै छाेड्याे, थाह पाउनेबित्तिकै उनको बिमार हराएजस्ताे भयाे, गुमिसकेकाे तागत फिर्ता आएजस्ताे भयाे । खुशीले गह भरिए । स्कुल समेत बन्द गरेर सबैजना भट्टराइलाइ लिन गए, बजारभरीका मान्छेहरू अबिर र माला लिएर आएका थिए, भट्टराइ अबिर र मालाले लगभग पुरिएका थिए । उपस्थित सबैका आँखामा जितकाे खुशीजस्ताे देखिन्थ्याे, ४६ दिन पछि फर्किदा भट्टराइ आफूचाहिँ साह्रै टिठलाग्दाे भएका थिए ।
लामो समयको दुःख पछि खुसी आएको थियो, हिन्दीमा एउटा कहावत छ ‘देनेवाला जब भि देता पूरा छप्पर फाडके देता’ भट्टराई छुटेको केही दिनमै लक्ष्मीपूजाको दिन विराटनगरमा उनको छोरा जन्मियो । खोटाङबजारको टेलीफोन माओवादीले बिगारिदिएको थियो, छोरा जन्मेको खबर तिहार पछि मात्र थाह भयो ।
आफ्नो विगत सुनाउँदै बिच बिचमा उनी भन्छिन् “अनेक अनेक खेपियो नि, के गर्नू?”

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
-
कार्तिक २५, २०८१कालु लामाकाे जिन्दगी बदल्ने त्याे एक रात
-
आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?
-
लोकप्रिय मंसिर १५, २०८१लाेकेन्द्रलाई ‘पाेलिटिक्समा पास’ गराउने ‘मेडिकल फेल’
-
लोकप्रिय आश्विन २०, २०८१फाेक्सिङ्टारकाे पुलका लागि विशाल भट्टराईले अघि सारेका विकल्पहरू
-
लोकप्रिय आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
Comments