•  १० जेष्ठ २०८२, शुक्रबार

लाेकेन्द्रलाई ‘पाेलिटिक्समा पास’ गराउने ‘मेडिकल फेल’

- मंसिर १५, २०८१ मा प्रकाशित


बाल्यकाल र पृष्ठभूमी :

सामुदायिक हिसाबले पनि अलि पछि परेकाे जनजाती समुदाय, त्यसकाे पनि खाेटाङकाे बतासेजस्ताे ठाउँमा जन्मिएकाे म, मेराे बाल्यकाल यसैपनि सहज थिएन । एक त विज्ञान प्रविधिकाे यसरी विकास भइनसकेकाे समय, त्यसमा पनि चिट्ठी पनि महिनाैं पछि आइपुग्ने मेराे गाउँ… हामीलाई कति कुरा थाहै हुँदैनथ्याे । दु:ख पनि धेरै गरिन्थ्याे तर प्रतिफल खासै नहुने । हामीले गरेकाे खेतीले हामीलाई बर्षमा ८ महिनामात्र खान पुग्थ्याे । विस्तारै हामीले हाम्राे खेती प्रणालीलाई सुधार गर्दै लग्याैं, त्यही जग्गामा त्याेभन्दा कम दुख गर्दापनि वर्षभरि खान पुग्न थाल्याे । कुनै पनि काम सहि तरिकाले हुनु र नहुनुले यति धेरै फरक पर्दाेरहेछ ।

हाम्राे बुवाहरू र फुपुहरू ११ जना, यसै ठुलाे परिवार हुने भइगाे, त्यहिपनि हामी गरिव भएकाले ‘साे कल्ड’ ठुलाहरूले हामीमाथि अत्याचार गर्न खाेज्थे । त्याे समय नै त्यस्ताे थियाे, सक्नेले जे गरे पनि हुने नसक्नेले निरीह भएर सहनुपर्ने । मलाई चाहिँ सानैदेखि यस्ताे प्रवृत्ति मन पर्दैनथ्याे । म गरिव भएपनि स्वाभिमानकाे पक्षमा जहिल्यै दह्राे भएर लाग्थें । आफ्ना अधिकार र दायित्वका विषयमा म सानैदेखि सचेत थिएँ । मैले आफ्नाे नागरिकता पनि उमेर पुग्नेबित्तिकै बनाएँ । 

मेराे परिवारमा काेही पनि राजनीतिमा थिएनन् । मावलीकाे हजुरबा गाउँमा अलिअलि राजनीति गर्ने भएतापनि मलाई आफ्नै स्वभावले राजनीतिमा तान्याे । 

अध्ययन :

मेराे अध्ययनकाे शुरुवात बतासेस्थित जनप्रभात प्राविबाट भयाे । घरकाे दुखकै बिचमा कक्षा ३ सम्म त्यहाँ पढेपछि म जनता मावि भण्डारीडाँडामा पढ्न थालें । त्यहींबाट ०५७ सालमा एसएलसी उत्तीर्ण गरें । त्याेबेला हाम्राे ठाउँमा, हाम्राे समुदायमा त्याे पनि ठुलाे कुरा थियाे । त्यसपछि म काठमाडाैं गएर पढ्न थालें । प्रदर्शनीमार्गकाे रत्नराज्यलक्ष्मी क्याम्पसबाट आइए गरें, ब्याचलर पनि पढें तर पुरा गर्न पाइँन ।

गाउँ फर्केपछि :

काठमाडाैंबाट म गाउँ फर्किएकै सुधार गर्नका लागि हाे । भर्खर गणतन्त्र आएकाे थियाे, पहिलाे संविधानसभा निर्वाचन हुन लागेकाे बेला म गाउँ फर्किएँ । काठमाडाैंमा हुँदा पनि पार्टीकाे बतासे-काडमाडाैं सम्पर्क मञ्चकाे अध्यक्ष भएर काम गर्दै थिएँ, त्याेबेला मलाई गाउँ फर्काउनमा विशाल भट्टराई र राम दंगालकाे मुख्य भूमिका छ । गाउँ आएसँगै म डिआरएसपी (DISTRICT ROADS SUPPORT PROGRAMME) काे बतासे खण्डकाे अध्यक्ष भएँ, त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेकाे छैन । विस्तारै पार्टीकाे बतासे गाउँ कमिटीकाे अध्यक्ष भएँ, ०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा सर्वसम्मत वडाध्यक्षकाे उम्मेदवार भएँ । त्याे चुनाव पुर्व गाविस अध्यक्ष राजेन्द्र राई, पूर्व प्रधानपञ्चकाे छाेरा बवेन्द्र राईसँग लडें र जितें ।

मैले जित्दै गर्दा गाउँमा बाटाे थिएन, बत्ती थिएन । मैले जितेर बत्ती बालें, बाटाे आयाे, हाम्राेजस्ताे सुख्खा ठाउँमा ७० वटा भन्दा बढी रिजर्भ ट्यांकी बनाएँ । वडाकाे शैक्षिक र अन्य क्षेत्रकाे सुधार गरें ।

०७९ मा गाउँपालिका अध्यक्षकाे उम्मेदवार बनिरहँदा मलाई मेराे वडाबाट ६२ प्रतिशत मत आयाे । मैले गरेकाे कामकाे उचित मुल्यांकन गाउँबासी नागरिकहरूले गरेकाे अनुभुति गरें । 

गर्नपनि त्याेबेला निकै दुख गरियाे, अवस्था प्रतिकूल थियाे । अघिल्लाे पटककाे अध्यक्षले वडामा सिलिङ बजेट नपठाएकाेले ठुलाे द्वन्द्व थियाे हाम्राेबीचमा । मैले जित्नेबित्तिकै पहिलाे पटक नै वडामा सिलिङ बजेट पठाएँ ।

नेतृत्वशैली : 

सानैदेखि म अलि हक्की स्वभावकाे मान्छे हुँ । साेचेर निर्णय गर्ने तर निर्णय गरिसकेपछि आफ्नाे निर्णयबाट ब्याक नहुने मेराे बानी छ । अरुले के गर्दैछ भन्ने कुराले मेराे निर्णय प्रकृियालाई प्रभाव पार्दैन । नेतृत्वले पक्षपातपूर्ण व्यवहार गर्नुहुँदैन भन्ने मेराे मान्यता छ । चुनाव जित्नेबित्तिकै यहाँका धेरै स्थानीय तहमा एमालेमा आस्था राखेकै भरमा करारका कर्मचारीहरूकाे जागिर गयाे । यहाँ पनि अघिल्लाे पटक कांग्रेसका अध्यक्ष, उपाध्यक्ष भएकाबेला जागीरमा लागेका धेरै मान्छे थिए, बदलाकाे भावना राखेकाे भए या अरुकाे कुरामा लागेकाे भए मैले उनीहरूलाई आस्थाका आधारमा हटाउन सक्थें तर मानवताका आधारमा हटाइँन । 

५० वर्ष नाघेकालाई जनही ५ लाख रुपैयाँ र त्याे भन्दा कमलाई थप दुइ महिनाकाे तलब दिएर बिदा गरें । उनीहरू पनि खुसी भए । रिक्त रहेकाे ठाउँमा प्रतिस्पर्धाबाट मान्छे आए । 

शक्ति सँधै एकनास रहँदैन, आफूसँग आज छ भन्दैमा यसकाे दुरुपयाेग गर्नुहुँदैन भन्ने मैले राम्राेसँग बुझेकाे छु ।

मजाले काम गर्ने हाे भने धेरै ठुलाे चुनाैती पनि छैन । बरु वडाध्यक्ष हुँदा अझ चुनाैती थियाे, स्राेतसाधनकाे अत्यन्तै सिमितता हुन्थ्याे । भिजन राम्राे बनाउने र सहि ठाउँमा कर्मचारी परिचालन गर्ने हाे भने अहिले सहज छ । जनअपेक्षा सम्बाेधन गर्ने कुरा केही गाह्राे छ तर पारदर्शीता भएपछि त्यसमा पनि धेरै समस्या हुन्न ।

म अध्यक्षमा निर्वाचित हुँदैगर्दा याे गाउँपालिकाकाे बार्षिक राजस्व लक्ष्य १५ लाख हुन्थ्याे, १२ लाखजति उठ्थ्याे । याे साल ६५ लाख राजस्व उठ्याे । अर्काेसाल याे १ कराेड पुग्छ । अघिल्लाे कार्यकालमा सुधार्न सकेकाे भए २ कराेड पुगिसक्थ्याे ।

प्रेरणा : 

म यसाे हेर्थेँ, खाेटाङका पुराना नेताहरूलाई । दिनरात नभनी, जहान-छाेराछाेरी नभनी जनताकाे लागि खटेकाे, समाज परिवर्तनका लागि खटेकाे देख्थेँ । सामान्य पहिरनमा हातमा रेडियाे बाेकेर सुन्दै झाेला भिरेर विशाल भट्टराई गाउँ गाउँ हिडेकाे देखिन्थ्याे, राम दंगाल उसैगरी दुख गर्दैगरेकाे देखिन्थ्याे, अरु नेताहरूकाे पनि उस्तै दुख हुन्थ्याे । जनयुद्ध चलिरहेकै बेला विशाल भट्टराई, राम दंगाललगायत अरु साथीहरू अपहरणमा परेकाे सुनिन्थ्याे । याे कुराले मैले पनि केही याेगदान गर्नुपर्छ भन्ने उर्जा भित्रैसम्म प्रसार हुन्थ्याे ।

देश छाेड्नेहरू लाई …

पहिला एकपटक म पनि विदेश जान खाेजेकाे थिएँ । परिवारमा दुख थियाे, गाेरु बेचेर पासपाेर्ट बनाएकाे थिएँ । मेडिकल फेल भएर जान पाइँन पछि त्याे पासपाेर्ट नै एक्सपायर भयाे । अहिले सम्झिँदा मेडिकल फेल भएर ठिकै भयाे भन्ने लाग्छ ।

अहिले विदेश जाने क्रम बढेकाे छ । आफ्नाे बारी बाँझाे छाेडेर मान्छे विदेश जाँदैछन् । गाउँ एक्लाे हुँदैछ । जनशक्ति बाहिर गएर हामीलाई धेरै ठुलाे घाटा लागेकाे छ । बरु यहिँ कृषिमा अनुदान दिएर या अरु कुनै तरिकाबाट देश बस्न प्राेत्साहन गराैं । विदेश जान राेक्नेगरी नीति बनाऔं । अहिले यसाे गरिएन भने अबकाे १०-१५ वर्ष पछाडी हाम्राे उमेरका मान्छेलाई पनि छाेराछाेरीले विदेश लैजान्छन्, देश रित्ताे हुन्छ ।

पारिवारिक सपाेर्ट : 

मेराे परिवारले राजनीति गर्दैन पनि र बुझ्दैन पनि । तर मलाई नगर भनेर कहिल्यै भन्दैन । राजनीति मात्र हैन जे काम गर्दा पनि मलाई परिवारले राेक्दैन । मैले पनि परिवारप्रतिकाे दायित्व भुल्नुहुँदैन ।

सुधारमा प्राथमिकता : 

पालिकाकाे विकास गर्दा हामी शुरुमा यातयातकाे विकासलाई प्राथमिकता दिन्छाैं । यहाँका सडकलाई जति दुख गरेर बनाएपनि बर्षेनी बिग्रिन्छन् । यसपालीकाे बाढीले त झन क्षतविक्षत नै बनायाे । यसकाे दीगाे समाधानमा पनि हाम्राे ध्यान गएकाे छ । कतिलाई पक्की बनाउन सकिन्छ, कतिलाई ग्राभेल गर्न सकिन्छ त्याे प्रयत्न गर्नेछाैं । बाटाे राम्राे हुने हाे भने हाम्राे तराईसँग र शहरसँगकाे सहज पहुँच स्थापना हुन्छ । यसले धेरैकुरामा फाइदा पुग्छ ।

अर्काे कुरा चाहिँ हाम्राेमा शैक्षिक क्षेत्र खस्कँदाे छ । यसका लागि चाहिँ शिक्षा प्रणालीमै सुधार गर्न आवश्यक छ । हाम्राे ठाउँबाट पनि त्यसका लागि पहल गर्छाैं र अब निस्किने विद्यार्थीमा त्यसकाे परिणाम देखिनेगरी काम गर्छाैं ।

नवयुवाहरूलाई सल्लाह : 

समाज परिवर्तनका लागि युवाहरू सचेत भएर राजनीतिमा लाग्नुपर्छ । आज राजनीति गर्नेहरू प्रति नागरिककाे दृष्टिकाेण फेरिएकाे छ । राजनीति गर्ने हरेक मान्छे भ्रष्ट्रचारी, ठग हुन्छ भन्ने आम धारणा बन्दै गइरहेकाे सन्दर्भमा त्यसलाई चिर्नेगरी राजनीति गर्नुपर्छ ।

युवाहरू नलागेर बुढापाकाहरूबाट मात्र सम्भव छैन । म पनि ४० वर्ष पुगिसकें, अब म कि त अहिलेकाे शिर्ष नेताहरू जस्ताे स्मार्ट र सबै कुरा बुझेकाे हुनपर्याे, एकठाउँमा बसेर सबै कुरा व्यवस्थापन गर्न सक्ने हुनपर्याे । कि त रिप्लेस हुन तैयार हुनपर्याे ।

युवाहरूले इमानकाे राजनीतिकाे संस्कृति बसाल्नू, महत्वकांक्षा नराख्नु । आजकाे भाेली नै सबै कुरा खाेजेर हुँदैन, धैर्यता राख्नू ।

आदर्श नेताका गुणहरू : 

आदर्श नेता बन्न पहिलाे कुरा त इमानदार हुनुपर्याे । नागरिकहरू प्रति उत्तरदायी हुनपर्याे । अहिलेकाे हाम्राे व्यवस्थामा कहिलेकाहिँ इमानदार मान्छे छायाँमा पनि पर्न सक्छ तर अप्ठेराेमा पनि आफ्नाे इमानदारीता र आफ्नाे कर्तब्य नभुल्ने मान्छे मात्र आदर्श नेता बन्न सक्दछ ।

(याे सामग्री नेकपा (एमाले)बाट निर्वाचित दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे अध्यक्ष लाेकेन्द्र राईसँग गरिएकाे कुराकानीका आधारमा तयार पारिएकाे हाे ।)

What’s your Reaction?
+1
29
+1
64
+1
15
+1
3
+1
11
Comments

सम्बन्धित खवर