•  १० जेष्ठ २०८२, शुक्रबार

‘साइकल सौन्दर्य’ सार्वजनिक : हरित उर्जा, संस्कृति र साहित्यको यात्रा एकैपटक

- जेष्ठ ६, २०८२ मा प्रकाशित


काठमाडौं । लेखक तारालाल श्रेष्ठद्वारा लिखित पाँचौं अनुसन्धान पुस्तक ‘साइकल सौन्दर्य’ को नेपाल पर्यटन बोर्ड, काठमाडौंमा बिमोचन गरिएको छ। डिस्कोर्स पब्लिकेशनले प्रकाशन गरेको उक्त पुस्तकले नेपालको साइकल संस्कृतिको इतिहास, वर्तमान र सम्भाव्य भविष्यलाई अटो–एथ्नोग्राफ्रिक शैलीमा प्रस्तुत गरेको छ।

हरित उर्जादेखि आत्मशक्तिसम्म

बिमोचन समारोहका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साइकल र हरित उर्जाबीचको सम्बन्धलाई जोड्दै भने, “भविष्यमा हाइड्रोजन शक्तिको प्रयोगसँगै नेपाल ऊर्जा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्नेछ।” उनले कुनै पनि अगुवाले आत्मशक्ति अभिवृद्धि गर्ने अभिव्यक्ति दिनुपर्ने र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नु पर्ने कुरामा जोड दिए।

साइकल साहित्यको दस्तावेजी क्रान्ति

कार्यक्रममा लेखक, कलाकार, साहित्यकारदेखि लिएर साइक्लिङ अभियन्ता र शिक्षकहरू सम्मको उल्लेखनीय उपस्थिति थियो। उपस्थित वक्ताहरूले तारालाल श्रेष्ठको यस कृति नेपालको साइकल संस्कृतिको पहिलो साङ्गोपाङ्गो दस्तावेज भएको उल्लेख गरे।

साइकल कनेक्ट भक्तपुरका अध्यक्ष ई. सुमित बालाले भने, “पुस्तकले नेपालको साइकल इतिहासदेखि भविष्यसम्मको गन्तव्य मार्ग प्रशस्त गरेको छ।”

प्रेरक अनुभव र जन–जागरण

विश्व साइकल यात्री पुस्कर शाह, युवा साइकल अभियन्ता तानिया श्रेष्ठ, तथा भुइँस्तरका साइकल शिक्षकहरू कार्यक्रममा सहभागिता जनाएका थिए।

क्यान्सरलाई जितेपछि सक्रिय साइकल जीवन बिताइरहेकी कविता चित्रकारको अनुभवले कार्यक्रममा गहिरो सन्नाटा छाएको थियो। कलाकार सरिता डंगोलले साइकल संस्कृति र महिला स्वतन्त्रता बीचको सम्बन्ध उजागर गरिन्।

त्यस्तै अस्मिता राजवंशीमायालक्ष्मी महर्जनले महिला र किशोरीहरूलाई साइकल सिकाउँदाका अनुभव बाँडे, जसले समाजमा विद्यमान लैंगिक पूर्वाग्रह तोड्न साइकलको भूमिका देखायो।

स्वास्थ्य र सामाजिक परिवर्तन

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा. पवन शर्माले साइकल चलाउँदा प्राप्त हुने स्वास्थ्य लाभबारे तथ्यसहित प्रस्तुत गरे। उनी नियमित साइकल चलाउने चिकित्सक पनि हुन्।

२५ अध्यायमा नेपालका साइकल कथा

साइकल सौन्दर्य’ २५ अध्यायमा विभाजित पुस्तक हो जसमा मेचिदेखि महाकाली, तराईदेखि मिथकीय हिमालसम्मका साइकल समुदायका सत्य कथाहरू समेटिएको छ। लेखकले अटो–एथ्नोग्राफ्रिक शैलीमा अनुभव, सामाजिक परिवेश र जीवन–प्रेरणालाई एकसाथ बुनेका छन्।


निष्कर्ष

साइकल सौन्दर्य केवल एक किताब होइन, यो साहित्य, इतिहास, वातावरण, लैंगिक समानता र आत्म–उर्जा बीचको संगम हो। हरित भविष्य र समावेशी समाज निर्माणमा साइकल अभियानले खेल्ने भूमिका अब केवल यात्राको माध्यम नभएर सामाजिक परिवर्तनको आन्दोलनका रूपमा स्थापित हुँदै गएको स्पष्ट हुन्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर