•  १० जेष्ठ २०८२, शुक्रबार

कालु लामाकाे जिन्दगी बदल्ने त्याे एक रात

- कार्तिक २५, २०८१ मा प्रकाशित


जीन्दगी हजार संयाेगहरुकाे संयाेजन हाे । स-साना कुराले, ससाना निर्णयले कालान्तरमा ठुलाे भिन्नता ल्याउँछ । 

उदयपुरमा कालु लामालाइ नचिन्ने बिरलै हाेलान् । जिल्लाकाे महत्वपूर्ण नगरपालिकाकाे मेयर,  नेकपा (एमाले)को जिल्ला उपाध्यक्ष भइसकेका लामाको दिमागमा झण्डै चार दशक अघिको एक रातको सम्झना कहिल्यै धमिलो भएको छैन ।

नारदमुनि थुलुङहरूले उदयपुरको बसाहमा जंगल फडानी गरेर वस्ती बसाउँदै गर्दा त्यो समूहमा कालुका आखे (बाजे) पनि थिए ।

खोटाङको बराहपोखरीमा बस्दै आएका उनका परिवार जंगल फडानी गरेर उदयपुरको बसाहमा झरे ।

राजा महेन्द्रले स्थापना गरेको पञ्चायती व्यवस्थाको रापतापका बीचमा २०३४ सालमा बसाहामै माइलो छोराको रूपमा कालु लामा जन्मिए ।

त्यसो त लामाको परिवार राजनीतिबाट टाढा थिएन । उनका बुवा त्यहाँका वडा अध्यक्ष भइसकेका थिए, यही कारण उनको घरमा गाउँका शिक्षक, बुद्धिजीवीहरूको आउने- जाने भइरहन्थ्यो। 

 

विद्यालय जाँदा शिक्षकको यातना पाइन्छ भनेर १० वर्षको उमेरसम्म पनि उनी स्कूल नजाने कुरामा दृढ थिए ।

एकरात, उपप्रधानपञ्च शोभितमान राईको घरमा बस्ने शिक्षक वेतन चौधरी लामाको घरमा आए, कुरै कुरामा लामालाई स्कूल हाल्ने कुरा चल्यो, उनलाई कहिल्यै कुनै शिक्षकले नपिट्ने ग्यारेन्टी चौधरीले दिएपछि बल्ल लामा स्कूल जान तैयार भए ।

स्कूल नजाने भनेर बसेका लामाको स्कुले जीवन गाउँकै बर्खेडाँडा स्कुलबाट भयो ।

 

शुरूमा स्कुलमा भाटा हान्ने कुरा मन नपराउने लामालाई बिस्तारै त्यो बेलाको इन्साफ प्रणाली मन परेन । इन्साफका लागि जो पहिला आइपुग्यो उसैले इन्साफ पाउने र आउन नसक्नेलाई भाटा लाउने, जरिवाना गर्ने जस्ता चलनले न्याय पहुँचवालाको पक्षमा मात्र भएको उनलाई अनुभूति हुन्थ्यो ।

यस्तै अनुभूतिहरुले उनलाई राजनीतिसँग जोड्यो ।

कक्षा १० मा पढ्दैगर्दा उनी औपचारिक रुपमा अखिलमा आब

द्ध भए । प्रविणता तहको पढाइ सकाएर सप्तरीको राजविराज क्याम्पस पढ्न थालेपछि उनको अखिलको यात्रा झनै शसक्त बन्न थाल्यो । त्यही साल भएको स्ववियु निर्वाचनमा लामा अखिलको तर्फबाट सभापतिको उम्मेदवार भए र पराजित भए ।

 

पहिलो पटक सामना गरेको निर्वाचन नै हार्नुपर्दा उनलाई कहीं न कहीँ दुःख त लाग्यो नै सँगै यो भन्दा राम्रो स्थान हासिल गर्छु भन्ने हुटहुटी पनि जाग्यो । यही हुटहुटीले उनलाई आफ्नै ठाउँको बर्खेडाँडा क्याम्पस ल्याइपूर्यायो र स्ववियु सभापति नै बनाएर छोड्यो। 

त्यसपछि विद्यार्थी राजनीति छोडेर उनी युवा संघतिर लागे। बिस्तारै नेकपा (एमाले) उदयपुर जिल्ला कमिटी सदस्य हुँदै सचिव भए । सचिव भएकै बेला दोश्रो पटक भएको स्थानीय तहको निर्वाचनमा उनको नेतृत्वमा चुनाव लडेको टिमले झण्डै क्लिनस्विप नै हान्यो ।

 

नेकपा (एमाले)ले अघि सारेको दोहोरो कार्यकारी जिम्मेवारी लिन नपाउने व्यवस्थाले गत जिल्ला अधिवेसनमा कालु लामाको जिल्ला अध्यक्ष हुने बाटो बन्द गरिदियो र उनी उपाध्यक्षमा निर्वाचित भए ।

 

मेयर हुनुभन्दा अगाडि उनले एउटा बायोग्यास कम्पनीमा फिल्डमा काम गरे, त्यो काम छोडेर आफ्ना साथीहरूसँग मिलेर सप्लायर्सको काम पनि गरे ।

 

राजनीतिलाई पेशा बनाउन हुँदैन, त्यसका लागि ‘एक हातले राजनीतिक क्रान्ति र अर्को हातले आर्थिक क्रान्ति गर्नुपर्छ ।’ भन्ने कुरामा उनले सधैं जोड दिँदै आएका छन्। 

 

नगरप्रमुख भएपछि उनले शिक्षा, स्वास्थ्य र कृषिमा विशेष प्राथमिकता दिएर काम गर्दै आइरहेका छन् । जसमा उनले सामुदायिक विद्यालयको सुधार गर्ने नीति लिएका छन् । स्वास्थ्य क्षेत्रको सुधारका लागि ३ जना डाक्टर भएको इमरजेन्सी र ओपिडी सेवसहित नगर अस्पताल सञ्चालन गरेका छन् भने कृषि क्षेत्रमा पनि नगरले विशेष लगानी गर्दै आएको छ । 

 

राजनीतिमा अहिलेको समयमा नेता मालिकजस्तो र कार्यकर्ता दासजस्तो बन्ने अवस्था नरहेको उनको बुझाइ छ। “नेताले निर्देशन दिँदैमा कार्यकर्ताले किन मान्ने? नेता हुने हो भने कार्यकर्तालाई उत्प्रेरित गर्न सक्नुपर्छ, नेता कार्यकर्ताको बीचमा दोहोरो समन्वयकारी सम्बन्ध हुनुपर्दछ ।” उनले भन्ने गरेका छन्। 

कहिलेकाहीं आफ्नो ऊर्जा कम भएजस्तो लाग्यो भने उनी आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सम्झिन्छन्।  “त्यो उमेरमा, त्यस्तो स्वास्थ्य भएको मान्छेको आत्मविश्वास र सकृयता त यस्तो छ भने मसँग त असीम ऊर्जा हुनुपर्ने हो ।” यस्तो सम्झिँदा सामाजिक क्षेत्रमा लाग्ने उनको ऊर्जा झनै बढ्छ ।

 

राजनीतिमा नलागेकोभए उनी साहित्य वा संगीतको क्षेत्रमा हुन्थे होला । सानै देखिको साहित्य र संगीत प्रतिको उनको लगाव अझै घटेको छैन। 

 

राजनीतिमा पनि उनलाई आफन्त/परिवारको राम्रो सपोर्ट छ।  जनता र कार्यकर्ताको सपोर्टको प्रतिफल त अहिले उनले पाएको भूमिका छँदैछ ।

 

समय बित्दै जाँदा मान्छेहरूले उनलाई एक शालीन र सामान्य मान्छेको रुपमा चिनुन भन्ने उनी चाहन्छन्। राजनीतिमा लाग्दै गरेका जो कोहीलाई पनि उनी व्यवसाय सहित राजनीतिमा लाग्न सुझाव दिन्छन्। उनी भन्छन् “महान नेता हुन मृदुभाषी हुनुपर्छ, धेरै अध्ययन गर्नुपर्छ र त्यति नै त्याग र सहयोगको भावना चाहिन्छ ।”

What’s your Reaction?
+1
11
+1
57
+1
18
+1
1
+1
9
Comments

सम्बन्धित खवर